नियम
दरबन्दी सिर्जना
: (१) सशस्त्र प्रहरी सेवामा नेपाल सरकारको स्वीकृति नलिई कुनै दरबन्दी सिर्जना गरिने छैन ।
(२) सशस्त्र प्रहरी बलमा नयाँ कार्यालय स्थापना गर्नको लागि सङ्गठन संरचना तयार गर्दा, नयाँ दरबन्दी सिर्जना वा तत्काल कायम रहेको सङ्गठन संरचना र दरबन्दीमा हेरफेर गर्दा मन्त्रालयको स्वीकृति लिई कार्यक्रम, कार्यबोझ, आर्थिक तथा अन्य दायित्व, सेवा प्रवाहको प्रभावकारिता, उपलब्ध मानवस्रोत, लागत प्रभावको विश्लेषण गरी कारण र औचित्य समेतको आधारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पर्नेछ ।
(३) उपनियम (२) को प्रयोजनको लागि देहाय वमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति रहनेछ :–
(क)   सहसचिव,  मन्त्रालय                                                – अध्यक्ष
(ख)   सशस्त्र प्रहरी महानिरीक्षकले तोकेको सशस्त्र प्रहरी नायब
            महानिरीक्षक वा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक         – सदस्य
(ग)    अधिकृत प्रतिनिधि, अर्थ मन्त्रालय                              – सदस्य
(घ)    मन्त्रालयले तोकेको सम्बन्धित विषयको विज्ञ           – सदस्य
(ङ)    सशस्त्र प्रहरी महानिरीक्षकले तोकेको सशस्त्र प्रहरी सेवाको
                  राजपत्राङ्कित अधिकृत                            –सदस्य–सचिव
      (४) उपनियम (३) बमोजिमको समितिको सिफारिसको आधारमा प्रधान कार्यालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको मूल्याङ्कन गरी मन्त्रालयमा पठाउनु पर्नेछ र मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिई स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नु पर्नेछ ।
तर दरबन्दी थप नहुने वा थप आर्थिक दायित्व नपर्ने भएमा अर्थ मन्त्रालयको सहमति लिनु पर्ने छैन ।
(५) यस नियम बमोजिम सङ्गठन संरचना तयार गर्ने, नयाँ दरबन्दी सिर्जना गर्ने, सङ्गठन संरचना र दरबन्दीमा हेरफेर गर्ने स्वीकृति प्राप्त भएमा प्रधान कार्यालयले सोको पन्ध्र दिनभित्र पददर्ताको लागि सशस्त्र प्रहरी किताबखानामा लेखी पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम विवरण प्राप्त भएपछि सशस्त्र प्रहरी किताबखानाले विवरण अद्यावधिक गरी सात दिनभित्र सोको जानकारी प्रधान कार्यालय र मन्त्रालयलाई दिनु पर्नेछ ।